Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कञ्चनपुरमा अटो र स्कुटर दुर्घटना, बालकसहित सात जना घाइते


0
Shares

काठमाडौं । कञ्चनपुरको बेलडाँडीमा अटो र स्कुटर ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार बेलडाँडी गाउँपालिका–२ क्याम्पदेखि करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्ष जंगलभित्रको सडकमा दुर्घटना भएको हो । दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको स्कुटर र विपरीत दिशाबाट गइरहेको अटो आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटर चालक ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन् । यस्तै, अटो चालक ४५ वर्षीय ललित सिंह ठकुराठी, उनका छोरा १८ वर्षीय हिक्मत ठकुराठी, ३६ वर्षीया सुशिला ठकुराठी, उनकी १५ वर्षीया छोरी आशिका ठकुराठी र २५ वर्षीया शोभा डाँगा घाइते भएका छन् ।

प्रहरीका अनुसार बालक अर्थक खाती र अटो चालक ललित सिंह ठकुराठीको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि धनगढीस्थित अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।

घाइते सबैलाई सुरुमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This