काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज देशभर दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउँदैछन्। नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत पर्ने भाइटीका प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाउने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीका लगाउन बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइत रहेको छ। तर साइतमा टीका लगाउन नभ्याउनेले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। त्यसक्रममा दाजुभाइलाई मखमली, सयपत्री र गोदावरीका माला पहिर्याउने तथा ओखर, कटुस, मसला र सेलरोटीलगायतका परिकार खुवाउने गरिन्छ।
परम्पराअनुसार दिदीबहिनीले तेलको धाराले दाजुभाइलाई घेरेर पूजा गर्ने गर्छन्। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार दक्षिणा, लत्ताकपडा र उपहार प्रदान गरी सम्मान प्रकट गर्छन्।
पारिवारिक आत्मीयता, आपसी प्रेम र सद्भावको प्रतीक मानिने भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।









प्रतिक्रिया दिनुहोस्