Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


उदयपुरमा माइक्रो बस दुर्घटना, चालकसहित १० जना घाइते


0
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दुर्घटनामा चालकसहित ११ जना सवार रहेकामा एक बालिका भने सकुशल रहेकी छन्।

मंगलबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त बसमा सवार १० जना घाइते भएका हुन्।

घाइते हुनेमा चालक कृष्ण केसी, झापा सुरुङ्गाकी ४० वर्षीया रेणुका प्रसाई र उनका १४ वर्षीय छोरा नैन प्रसाई, मोरङ उर्लाबारीकी ५० वर्षीया निलकुमारी लम्साल, सुनसरी इटहरीकी ४३ वर्षीया मुना ढकाल, उदयपुर बेलकाका ३८ वर्षीय प्रवीण तामाङ, मोरङ सुन्दरहरैँचाका ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरी इटहरीकी ३७ वर्षीया रञ्जिता गौतम तथा उदयपुर चौदण्डीगढीकी २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन्।

दुर्घटनामा रेणुका प्रसाईकी १० वर्षीया छोरी निरुसा भने सकुशल रहेकी छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Skip This