Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


बालुवाटारको रेस्टुरेन्टमा जुवा खेल्ने ९ जना ६ लाख ८५ हजार रुपैयाँसहित पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसमेत बरामद गरेको छ।

काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। शनिबार राति करिब २ बजे प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद, तासको एक बुक र १० थान मोबाइल बरामद गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४१ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय साहिद महमद र २८ वर्षीय सरोज कार्की रहेका छन्।

त्यस्तै, बूढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका–४ का ३४ वर्षीय अनिल भण्डारी पनि पक्राउ परेका छन्।

यसैगरी, संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय तारावीर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २९ वर्षीय महेन्द्र खनाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This