शुभकला राई, ओखलढुंगा ।
ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा तत्कालीन पाँच जना कर्मचारी तथा जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको उजुरी परेपछि गरिएको अनुसन्धानबाट उक्त रकम हिनामिना भएको खुलेको हो ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला वि।क। तथा तत्कालीन वडा नम्बर ९ का वडाध्यक्ष शुकवीर तामाङ रहेका छन् ।
अनुसन्धानका क्रममा पाँचै जनाको पूर्वसहमति र मिलेमतोमा वडाध्यक्ष तामाङको दायाँ हातको बुढी औँलाको छाप प्रयोग गरी सामाजिक सुरक्षा भत्ता वितरणको भरपाई तयार गरिएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का पहिलो, दोस्रो र तेस्रो चौमासिकमा गरी ३६० वटा औँठाछाप प्रयोग गरेर २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको तथा लिन लगाइएको थियो ।
त्यस्तै, भत्ता वितरणको अभिलेखमा लाभग्राहीका औँठाछाप नमिलेको, एउटै व्यक्तिको नाम दोहोरो राखिएको, मृत्यु भइसकेका व्यक्तिको लगत कट्टा नगरी भत्ता वितरण गरिएको तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको विवरणसमेत अद्यावधिक नगरी रकम भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ ।
गलत विवरणसहितको अभिलेख तयार गरी पेश्की फर्छ्योट गराउँदा थप दुई लाख ५२ हजार रुपैयाँ अनियमितता भएको आयोगको भनाइ छ ।
यसरी दोहोरो नाम, मृत्यु भएका तथा बसाइँसराइ गरेका व्यक्तिका नाममा भत्ता वितरण गरेको देखाएर २९ लाख १५ हजार २०० रुपैयाँ र अन्य गलत विवरणका आधारमा दुई लाख ५२ हजार रुपैयाँ गरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको आयोगले जनाएको छ ।
पद तथा ओहदाको दुरुपयोग गरी आफूलाई गैरकानुनी लाभ पुर्याउने र गाउँपालिकालाई आर्थिक हानि पुर्याउने बदनियत राखेको आरोपमा पाँचै जनाविरुद्ध कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्