काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको प्रतीक्षामा रहेको पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्धको खेलमा बलिङबाट सुरुवात गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेपछि पोखराका कप्तान चमिका करुणारत्नेले चितवनलाई ब्याटिङमा पठाएका हुन् ।
प्रतियोगितामा पोखराको सुरुवात सुखद हुन सकेको छैन । तीन खेल खेल्दा पनि जितविहीन रहेको पोखरा अंकतालिकाको पुछारमा छ । त्यसैले चितवनविरुद्ध मैदान उत्रँदा टोली पहिलो जितको खोजीमा हुनेछ ।
चितवनको अवस्था भने पोखराको भन्दा केही राम्रो छ । तीन अंकसहित सातौँ स्थानमा रहेको चितवनले एक खेल जितेको छ भने अर्कोमा हार बेहोरेको छ । वर्षाका कारण एक खेल भने रद्द भएको थियो ।
आजको खेलका लागि पोखराले कप्तानीमा परिवर्तन गर्दै चमिका करुणारत्नेलाई जिम्मेवारी दिएको छ । साथै सुदीप अर्याल, युवराज शर्मा र सागर ढकालले पनि टोलीमा स्थान पाएका छन् ।
चितवनले चोटका कारण अघिल्लो खेलमा अनुपस्थित रहेका मार्की खेलाडी कुशल मल्ललाई टोलीमा फर्काएको छ । डान मुस्ले पनि आजको खेलमा समावेश भएका छन् । उनीहरूलाई स्थान दिन देव खनाल र टम टेयलरलाई विश्राम दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्