Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


होर्मुज जलडमरूमध्य नजिकै नौसैनिक उपस्थिति बढाउँदै दक्षिण कोरिया


312
Shares


काठमाडाैं ।

दक्षिण कोरियाले समुन्द्री डकैती नियन्त्रणका लागि अदनको खाडीमा तैनाथ आफ्नो नौसैनिक एकाइ ‘चेओङ्हे युनिट’ को कार्यक्षेत्र विस्तार गरी होर्मुज जलडमरूमध्य नजिकै पु¥याउने योजना बनाएको छ ।

दक्षिण कोरियाली समाचार संस्था योनहापकाअनुसार ओमानको दक्षिणी समुन्द्री क्षेत्रमा समेत आफ्नो नौसैनिक उपस्थिति विस्तार गर्ने तयारी दक्षिण कोरियाले गरेको हो । यसका लागि समुन्द्री गस्ती विमान र विस्फोटक पदार्थ निष्क्रिय पार्ने (ईओडी) टोलीसहित थप सैन्य उपकरण परिचालन गरिनेछ ।

होर्मुज जलडमरूमध्यमा भविष्यमा हुनसक्ने अन्तर्राष्ट्रिय समुद्री बारुदी सुरुङ निष्क्रिय पार्ने अभियानमा सहभागी हुने सम्भावनालाई ध्यानमा राखेर पनि उक्त तयारी गरिएको समाचारमा उल्लेख छ । यसका लागि मानवरहित समुद्री बारुदी सुरुङ पहिचान तथा निष्क्रिय पार्ने उपकरणसमेत परिचालन गरिनेछ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त योजनाबारे आएको समाचारको पुष्टि गरेको छ । मन्त्रालयले कार्यक्षेत्र विस्तार र थप सैन्य उपकरण परिचालनसम्बन्धी संशोधित प्रस्ताव राष्ट्रिय सभामा पेस गर्ने तयारी गरेको जनाएको छ  । उक्त प्रश्ताव उपमन्त्रीस्तरीय बैठकबाट पारित भइसकेको छ । आगामी साता मन्त्रिपरिषद् बैठक र राष्ट्रपतिको अनुमोदनपछि प्रश्ताव संसद्मा पेस गरिनेछ ।

सन् २००९ देखि अदनको खाडीमा परिचालित चेओङ्हे युनिटको मुख्य जिम्मेवारी समुन्द्री डकैती नियन्त्रण र व्यापारिक जहाजको सुरक्षा गर्नु हो । हाल यस युनिटसँग ४ हजार ४०० टन क्षमताको एक विध्वंसक युद्धपोत, एउटा समुन्द्री निगरानी हेलिकप्टर र तीन वटासम्म द्रुत गतिका साना डुङ्गा छन् । यसमा अधिकतम ३२० जना सुरक्षाकर्मी परिचालित छन् ।

नयाँ योजनाअनुसार दक्षिण कोरियाले अत्याधुनिक पी–८ए समुद्री गस्ती विमान, मानवरहित पानीमुनि सञ्चालन हुने यान, मानवरहित सतही यान तथा टाढाबाट सञ्चालन गर्न सकिने उपकरण थप गर्नेछ । ती उपकरण सञ्चालनका लागि विस्फोटक पदार्थ निष्क्रिय पार्ने विशेष टोलीसमेत परिचालन गरिने जनाइएको छ ।

Skip This