सविना अछामे,खोटाङ।
जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्न भएपछि जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।
सघन शहरी भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख सुरज पौडेलले जिल्ला अस्पतालका निमित्त प्रमुख डा.पुस्कल राईलाई कात्तिक १९ गते बिहीबार हस्तान्तरण गरेका हुन् ।
संघीय सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सघन शहरी भवन निर्माण आयोजना ओखलढुङ्गासंग संझौता गरेको थियो ।
तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माण ढिलाई भएको थियो । पटक–पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले अटेर गरेपछि कारबाहीको प्रक्रिया सुरु भएपछि उक्त निर्माण कम्पनीले जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई जिम्मा दिएको थियो । त्यसपछि भवन सम्पन्न भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् ।
आफ्नै जिल्लाको जिल्ला अस्पताल सम्पन्न गर्न पाउदा खुसी लागेको भवन निर्माण कम्पनीका प्रतिनिधि सुनिल राईले बताएका छन् । भवन निर्माणका लागि सबै पक्षले गरेको सहयोगप्रति सघन शहरी भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख सुरज पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।
अस्पताल भवन नहुदा टहरामा उपचार गर्नु पर्ने वाध्यता थियो । २०८२ असार २२ गते १५ बेडको जिल्ला अस्पताललाई ५० बेडको रूपमा उद्घाटन गरिए पनि भवन नै नसकिएकाले त्यसअनुसारको सेवा विस्तार हुन सकेको थिएन । भवन हस्तान्तरण भए पनि ५० शैयाको अस्पतालको सेवा सुविधाका लागि थप पहल गर्नु पर्ने राईले सुनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्