काठमाडौं । केन्द्रीय मानन्धर संघले नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७ का नवनियुक्त अध्यक्ष सुगतरत्न कंसाकारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
काठमाडौंको दैसाः टोलमा आयोजित कार्यक्रममा संघले कंसाकारको एकवर्षे कार्यकाल सफल रहोस् भन्ने कामनासहित सम्मान तथा शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कंसाकारले विश्वका करिब १९५ देशमध्ये प्रचलनमा रहेका संवत्को संख्या १२ मात्रै रहेको र त्यसमध्ये नेपाल संवत् पनि एक भएको बताए । उनले सगरमाथा र लुम्बिनीले नेपाललाई विश्वमाझ चिनाएझैँ नेपाल संवत्को अन्तर्राष्ट्रिय प्रचारप्रसारले पनि नेपालको पहिचान विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे ।

विश्वका अधिकांश संवत् धर्म वा राजामहाराजाका नामबाट प्रचलनमा आएको उल्लेख गर्दै कंसाकारले नेपाल संवत् भने देशकै नामबाट सुरु भएको विशिष्ट संवत् भएको बताए । आजभन्दा ११४७ वर्षअघि राजा राघवदेवको शासनकालमा राष्ट्रिय विभूति शंखधर साख्वाःले नेपाल संवत् प्रचलनमा ल्याएका थिए । शासकको ऋण तथा दासत्वबाट सर्वसाधारणलाई मुक्त गराएको खुसीयालीमा यो संवत् सुरु गरिएको इतिहासमा उल्लेख छ ।

नेपाल संवत्को महत्त्व उजागर, संरक्षण र राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । समितिमा ३५ सदस्यीय सचिवालय, १०७ सदस्यीय समिति र विभिन्न जिम्मेवारीका लागि २० वटा उपसमिति गठन गरिएका छन् ।
समितिले नेपाल संवत्को नयाँ वर्षलाई राष्ट्रियस्तरमा भव्य रूपमा मनाउने, भिन्तुना सभा तथा सांस्कृतिक र्याली आयोजना गर्ने र राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदान तथा इतिहासको प्रचारप्रसार गर्दै आएको छ । साथै, नेपाल संवत्लाई सरकारी कामकाज र दैनिक व्यवहारमा प्रयोगमा ल्याउन पहलसमेत गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्