सुरेन्द्र भण्डारी, झापा । झापाको दमक नगरपालिका–५ स्थित बाँसघारीमा म्याग्जिनसहितको एक थान पेस्तोल बेवारिसे अवस्थामा फेला परेको छ । प्रहरीले नियमित खोजतलासका क्रममा बाँसको झ्याङमा लुकाएर राखिएको अवस्थामा उक्त हतियार बरामद गरेको हो ।
मंगलबार दिउँसो करिब ४ बजे स्वीप अपरेसनअन्तर्गत खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शंकास्पद वस्तु देखेपछि जाँच गरेको थियो । सोही क्रममा बाँसको झ्याङभित्र लुकाइएको पेस्तोल र त्यसमा प्रयोग हुने म्याग्जिन फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पेस्तोलको म्याग्जिनमा ‘Made in Italy’ लेखिएको छ । प्रहरीले हतियार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक आशंकाअनुसार उक्त पेस्तोल जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन ।
हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै, बरामद पेस्तोलको स्रोत र त्यसको अवस्थाबारे समेत जाँच भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्