काठमाडौं । दार्चुलाको अपिहिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ शुरु हुँदैछ ।
अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपिहिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ ।
अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सव मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको आयोजनामा मात्र सिमित नभई अपिहिमालको पहिचान बाहिरी संसारसम्म पुर्याउने अभियान भएको बताउनुभयो ।
पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने र युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको उहाँको भनाइ छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रश्तुति, मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता, योग, ध्यान र जलवायु परिवर्तनसम्बन्धी संवादलगायत कार्यक्रम समावेश गरिएका छन् ।
महोत्सवमा सहभागी हुने पर्यटकका लागि आवास, सूचना, स्वास्थ्य र सुरक्षासम्बन्धी व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । महोत्सवलाई स्थानीय उत्पादनको बजार विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ । पर्यटकको आगमन बढेसँगै होमस्टे, होटल, कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्यमले बजार पाउने स्थानीय उद्यमी तथा व्यवसायीको अपेक्षा छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसअघि वार्षिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेको विवरणका आधारमा पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको हो । तर महोत्सवका तीन दिनमा मात्र पर्यटकको चहलपहल बढाएर अपेक्षित उपलब्धि हासिल नहुने भएकाले वर्षभरि पर्यटक आकर्षित गर्ने पूर्वाधार, आवास, सूचना तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने चुनौती गाउँपालिकासामु छ ।









प्रतिक्रिया दिनुहोस्