काठमाडौं । सन् २०२६ को अक्टोबर महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या वर्षकै उच्च विन्दुमा पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार उक्त महिनामा हवाई मार्ग हुँदै १ लाख ३२ हजार ८ सयभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
यो संख्या गत वर्षको अक्टोबर महिनाको तुलनामा ३ दशमलव ४ प्रतिशतले बढी हो। सन् २०२५ को सोही अवधिमा १ लाख २८ हजार पर्यटक नेपाल आएका थिए।
यससँगै सन् २०२६ को पहिलो १० महिनामै नेपाल आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। जनवरीदेखि अक्टोबरसम्म कुल १० लाख ८ हजार ६ सय १६ जना पर्यटक हवाई मार्गबाट नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।
पहिलो १० महिनाको अवधिमा पर्यटक आगमनले १० लाखको आँकडा पार गरे पनि वार्षिक लक्ष्य हासिल हुने अवस्था र अघिल्लो वर्षको तुलनामा पर्यटन क्षेत्रको प्रगति मूल्यांकन गर्न बाँकी दुई महिनाको तथ्यांक पनि महत्वपूर्ण हुने देखिएको छ।
अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन्। यसबाहेक बेलायत, अस्ट्रेलिया, जर्मनी, माल्दिभ्स, बंगलादेश र फ्रान्सबाट आउने पर्यटकको संख्यामा पनि तुलनात्मक वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्