Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


नेपालको व्यवहार र परराष्ट्र नीतिले छिमेकी राष्ट्रहरू झस्किने अवस्था आउन दिनु हुँदैनः प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौंमा आयोजित सेमिनारमा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आवद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार नै परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिमा प्रभाव पारेको उल्लेख गर्दै कुनै पनि अतिवादी धारमा नलागी सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो । छिमेकी मुलुकहरूसँगको सम्बन्धमा अविश्वास बढ्ने खालका गतिविधि र परराष्ट्र नीति अवलम्बन गर्न नहुने उहाँको भनाइ छ ।

नेता ज्ञवालीले नेपालप्रति छिमेकी मुलुकहरूको विश्वास कमजोर भए शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभयो । छिमेकी मुलुकहरुलाई विश्वासमा लिएर अघि बढ्न नसके नेपालमाथि थेग्न नसक्ने गरी भूराजनीतिक दबाब सिर्जना हुनेतर्फ नेपाल सधैं सजग हुनुपर्नेमा समेत उहाँको जोड छ ।

नेता ज्ञवालीले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत दुवैसँगको सम्बन्धलाई अवसरका रूपमा लिनुपर्ने समेत बताउनुभयो । उहाँले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र जनसंख्याको आधारमा महत्वपूर्ण मुलुक हुनुका साथै ठूलो उपभोक्ता बजार, नवप्रवर्तनको केन्द्र र उत्पादन तथा आर्थिक वृद्धिको इन्जिन रहेको उल्लेख गर्नुभयो ।

नेपालले ठूला मुलुकहरूको बीचमा रहेको भौगोलिक अवस्थालाई कमजोरीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै दुवै छिमेकीसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गौतम बुद्धको जुन मध्यम मार्ग छ त्यो मध्यम मार्गले पनि हाम्रो परराष्ट्र नीतिलाई कहीँ न कहीँ प्रभाव पारेको छ । कुनैपनि एक्सट्रिममा नलाग्ने, कुनै कित्तामा नउभिने, कुनै स्ट्राटेजिक ब्लकहरूमा नजोडिने, असंलग्नता, पञ्चशीलताका कुराहरु खोज्दै जाने हो भने त्यहाँ भेटिन्छ । त्यसकारणले इतिहासको यो पक्षलाई ध्यानमा राखेर नेपालले सधैं पनि स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हुन्छ । हाम्रा कुनै पनि व्यवहारले हाम्रा छिमेकीहरू झस्किने, हामीप्रति अविश्वास बढ्ने खालको नीति नेपालले अवलम्बन गर्नुहुँदैन । कुनै एउटा लेखकले भनेका छन् जस्तो हाम्रो सम्बन्ध पारदर्शी र विश्वसनीय भयो भने उनीहरूले नेपालको लिडरसिपलाई, नेपाललाई विश्वास गरेर आफ्नो दायरामा बस्छन् । तर यदि कुनै दिन लाग्यो ढुक्क हुन सकिने अवस्था छैन भनेदेखि शक्ति राष्ट्रहरू गेम प्ले गर्न थाल्छन् । शक्ति राष्ट्रहरू आफैं अगाडि आउन थाल्छन् जुन कुरा नेपााले एफोर्ड गर्न सक्दैन । यो कुरालाई ध्यानमा राखेर सन्तुलित सम्बन्ध हाम्रो परराष्ट्र नीतिको एउटा महत्वपूर्ण आधार हुनुपर्छ । अहिले हाम्रो परराष्ट्र नीति कति सन्तुलित छ, हामीले चालिरहेका कदमहरूले हाम्रो छिमेकीहरूको विश्वास कति जित्न हामीले सकेका छौं, हाम्रा क्रियाकलापहरू हामीले विगतमा अवलम्बन गर्दै आएका यी फन्डामेन्टलहरूसँग कति मिल्दाजुल्दा छन्? विद्वत समुदायले आफैं विश्लेषण गरेको छ भन्ने मलाई लाग्छ । जुन दिन हामी चिप्लियौं त्यो सन्तुलनको एउटा टाइट रोपमा हामी हिँडिरहेका छौं, त्यो सन्तुलन गुमायौं भने र कुनै पनि छिमेकीप्रति अविश्वास बढ्ने एउटा स्थिति सिर्जना भयो भनेदेखि त्यसले नेपालले थेग्न नसकिने एउटा चाहिँ स्ट्रेस नेपाल माथि आइलाग्छ भन्ने कुरालाई हामीले सधैं हेक्का राख्नुपर्छ । दोस्रो, हामीले चीनसँगको सम्बन्धलाई कसरी अगाडि बढाउनुपर्ला रु अघि पूर्व विश्व्को दोस्रो ठूलो अर्थतन्त्र र पपुलेसन भएको मुलुक हो चीन । सबभन्दा ठूलो कन्जुमर मार्केट हो । इनोभेसनको एउटा हब हो र ग्रोथको, प्रोडक्सनको एउटा इन्जिन हो । दक्षिणतिरको छिमेकी पनि उत्तिकै महत्वपूर्ण छ । हामी त ठूला देशको बीचमा मिचिएका छौं भन्ने हीन भावना होइन, यो एउटा अपर्चुनिटीको रुपमा हामीले यी कुराहरुलाई लिनुपर्छ ।’

उहाँले चीनको कम्युनिष्ट पार्टी संगठनात्मक र नीतिगत रुपमा व्यवस्थित रहेको भन्दै त्यसबाट नेपालका कम्युनिष्ट पार्टीहरुले समेत पाठ सिक्नुपर्ने बताउनु भयो ।

Skip This