Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


सरकारले स्थिर नीति र लगानीमैत्री वातावरण बनाउनुपर्छ, निजी क्षेत्र लगानी गर्न तयारः अध्यक्ष श्रेष्ठ


26
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र लगानीका लागि तयार रहेको भन्दै त्यसका लागि सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा र अनुकूल व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।

बजारमा उत्पादनको माग घट्दै गएको र मुद्रा प्रवाहसमेत कमजोर हुँदा उद्योगी व्यवसायी प्रभावित भएको उहाँको भनाइ छ । उहाँले बढ्दो युवा पलायनका कारण आन्तरिक बजारमा वस्तु तथा सेवाको माग घटिरहेको उल्लेख गर्दै बजारमा माग बढाउने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पछिल्लो समय पूर्वाधार क्षेत्रमा राज्यको लगानी र खर्च अपेक्षाकृत रूपमा बढ्न नसकेको समेत उल्लेख गर्नुभयो । पूर्वाधारमा सरकारी लगानी बढे मात्रै बजारमा मुद्रा प्रवाह र माग विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले उत्पादन, निर्यात, रोजगारी र लगानी विस्तारमा निजी क्षेत्रको भुमिका प्रभावकारी बनाउन महासंघले छिमेकी मुलुकहरूसँग पनि छलफल अघि बढाएको बताउनुभयो । संयुक्त व्यापार मञ्च (जोइन्ट बिजनेस फोरम) गठन गरी नेपालबाट छिमेकी मुलुकमा निर्यात गर्न सकिने वस्तु तथा ती मुलुकबाट नेपालमा आयात गर्न सकिने उत्पादन पहिचान गर्ने काममा महासंघ क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले मुलुकको आर्थिक पुनरुत्थानको लागि कसरी काम गर्नसक्छ रु हामीले सरकारलाई कसरी सहयोग गर्नसक्छौँ भन्ने विषयमा गृहकार्य गरिरहेका छौँ । लगानीकर्ताको लागि नीतिगत स्थिरता, लगानीको सुरक्षा र व्यवसायिक वातावरण निर्माणमा सरकारले भूमिका खेलोस् । निजी क्षेत्र लगानी गर्न तयार छ भन्ने किसिमले हामी अगाडि बढेका छौँ । अहिले बजारमा उत्पादित वस्तुको माग घट्दो रुपमा गइरहेको छ । माग बढ्न सकेको छैन । युवा पलायनको कारणले पनि माग घटिरेहेको छ । त्यसकारण उद्योगी व्यवसायीको उत्पादनको माग बढ्ने गरी सरकारले काम गरिदियोस् । सरकारले पूर्वाधार क्षेत्रमा लगानी गरिदियोस् । अहिले पनि पूर्वाधारको क्षेत्रमा अपेक्षाकृत रुपमा लगानी हुन सकेको छैन । वर्षेनी पूर्वाधार क्षेत्रमा राज्यको लगानी र खर्च घटिरहेको छ । यस कुरामा सरकार सिरियस्ली लाग्नुपर्छ । मनी सर्कुलेसन नै भइरहेको छैन । मनी सर्कुलेसन भएपछि पो बजारमा डिमाण्ड बढ्ने हो । हामीले यो कुरा सरकारसमक्ष राखिरहेका छौँ । उत्पादन, निर्यात, रोजगारी र लगानी विस्तारमा निजी क्षेत्रको नेतृत्वदायी भुमिका छ । यो भुमिकलाई अझै प्रभावकारी कसरी बनाउने भन्ने विषयमा हामी छिमेकी मुलुकहरुसँग पनि अन्तरक्रिया गरिरहेका छौँ । जोइन्ट बिजनेस फोरम बनाएर त्यो देशमा कुन उत्पादन नेपालबाट लैजान सकिन्छ र त्यहाँबाट के उत्पादन ल्याउन सकिन्छ भन्ने कुरामा पनि हामी काम गरिरहेका छौँ ।’

महासंघले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवद्र्धन र व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले अगामी १७ देखि २१ मंसिरसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दैछ ।

Skip This