मुस्ताङ । जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् ।
लमजुङको मर्स्याङ्दीमा होटल सञ्चालन गर्दा आफ्नै होटलकी १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो । २०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की स्थानान्तरण गरिएको थियो । तर भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारमा अशान्त स्थिति सिर्जना भएपछि उनी फरार भएका थिए ।
भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले बम्बई र दिल्लीका होटलमा परिचय बदलेर काम गरे । दिल्लीमा भेटिएका साथीको सल्लाहमा उनी पुस महिनामा नेपाल फर्केर उपल्लो मुस्ताङ पुगे । वारागुङ मुक्तिक्षेत्र–२, चैलेस्थित ‘प्रमिसा होटल’ मा ९ महिना र पछि ‘लिवन रेष्टुरेन्ट’ मा पहिचान लुकाएर काम गरिरहेका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा खटिएको विशेष टोलीले कात्तिक १३ गते उनलाई लिवन रेष्टुरेण्टबाट नियन्त्रणमा लिई कात्तिक १४ गते पुनः कास्की कारागार बुझाएको छ ।
कास्कीबाट भागेका ७५३ कैदीमध्ये ११ विदेशीसहित ११० जना अझै फरार रहेकाले प्रहरीले विशेष खोजी अभियान जारी राखेको छ ।









प्रतिक्रिया दिनुहोस्