काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले अगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाउने गरी पार्टीले काम गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यमान सामाजिक विकृति र विभेद अन्त्यलाई प्राथमिकतामा राखेर पार्टीले योजनाअनुरुप काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पार्टीका नवनिर्वाीचत केन्द्रिय सदस्यहरुलाई दौडधुपमा मात्र सिमित नभई जिम्मेवारीअनुसार परिणाममुखी काम गर्न आग्रह गर्नुभयो । पार्टी केन्द्रको योजना र सभापतिको कार्ययोजनाअनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ ।
शर्माले सामाजिक सञ्जालमा गलत सूचना आए विधिसम्मत प्रक्रियाबाट खण्डन गर्नुपर्ने तथा सामाजिक सञ्जाललाई समाज रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभन्दा पहिले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समेत बताउनु भयो । उहाँले विश्वव्यापी जलवायु परिवर्तनको असर न्यूनिकरण, हिमाल संरक्षण र विदेशमा रहेका नेपालीका भावनालाई सम्बोधन गर्न सरकारसँग सहकार्य गर्न काँग्रेस तयार रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कोप ३१ आउँदै छ ।
सरकारको प्रस्तुति, सरकारको तयारी पूरा प्रमाणका साथ राम्रो ढङ्गले हुन सकोस् । जलवायु परिवर्तनसँग जुझ्दै गर्दा नेपालको हिमालको रक्षा गर्नुपर्ने सबैभन्दा प्रधान दायित्व छ । यो दायित्वमा जुध्नका लागि हामी सरकारको साथमा छौँ । हाम्रो देशका कयौँ नागरिक जीवन खोज्नलाई परदेशमा छन्, डायस्पोरामा छन् । तिनको भावनालाई पनि कसरी सम्बोधन गर्ने, हामी त्यो विषयमा पनि गम्भीर छौ । देशका सामुन्ने सामाजिक रूपान्तरणको असरल्ल मुद्दाहरूलाई हामीले काँधमा बोक्नु छ ।’
उहाँले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन (कोप–३१)को लागि प्रभावकारी तयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्