काठमाडौं । देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् बिभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उहाँको भनाई छ ।
भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उहाँले बताउनुभयो । उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
बिहीवार बेलुकादेखि शनिवारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष शतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ । केही ठाउँहरुमा हल्कासम्म वर्षाको सम्भावना रहन्छ । बेलुका भने हल्कादेखि मध्यमसम्म थोरै स्थानहरुमा आउन सक्ने सम्भावना छ, साथै बेलुकाबाट नै उच्च हिमाली तथा पहाडी भूभागहरुमा हिमपातको सम्भावना रहन्छ । आज बेलुकाबाट शनिवारसम्म हामीले विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ, विशेष गरी उच्च पहाडी र हिमाली भूभागहरुमा बढी सतर्क हुनुपर्ने देखिन्छ । अरु स्थानहरुमा मध्यम, हल्कादेखि मध्यमसम्म वर्षाको धेरै ठाउँमा सम्भावना छ । भारी वर्षाको धेरै थोरै ठाउँहरुमा सम्भावना रहेको छ । अब धान काट्नेलाई पाकिसकेको धानलाई चाहिँ अब हामीले अगाडि नै भनेका थियौँ, अब चाहिँ काट्नु राम्रो हुँदैन, अब यो इभेन्ट सकिसकेपछि धान काट्नलाई केही फरक पर्दैन ।’
उहाँले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान काट्ने काम तत्काल नगर्न सुझाव दिनुभयो । उहाँले आईतबारदेखी काट्न सकिने उहाँले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्