एजेन्सी ।
मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। रोकिएको रेलको पछाडिको भागमा अर्को रेल ठोक्किएपछि दुईवटा डिब्बा लिकबाट बाहिरिएका छन्।
स्पेनी अधिकारीहरूले सुरुमा दुर्घटनामा १० जनाको मृत्यु भएको जानकारी दिएका थिए। तर सरकारी समाचार संस्था ईएफईसहित स्थानीय सञ्चारमाध्यमले मृतकको सङ्ख्या बढेर कम्तीमा ३० पुगेको जनाएका छन्।
रेल सञ्जाल सञ्चालक संस्था एडीआईएफका अनुसार, दुर्घटना बुधबार बिहान टोलेडो प्रान्तमा भएको हो। दुर्घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्डालुसियाबीच सञ्चालन हुने रेल सेवा स्थगित गरिएको छ।
कास्टिला–ला मान्चा क्षेत्रकी प्रवक्ता एस्थर पाडिलाले सरकारी प्रसारण संस्था टीभीईलाई बताएअनुसार, राजधानी म्याड्रिडबाट दक्षिणपश्चिमी सहर सेभिलतर्फ गइरहेका दुई रेल दुर्घटनामा परेका हुन्। रोकिएको रेलको पछाडिको भागमा अर्को रेल ठोक्किँदा दुई डिब्बा लिकबाट बाहिरिएका थिए। दुर्घटना कसरी भयो भन्नेबारे भने खुल्न सकेको छैन।
उर्दा र लस येबेनेस सहरबीच खेतबारीले घेरिएको समथर भूभागमा दुर्घटना भएको हो। दुर्घटनामा एउटा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनास्थलमा डिब्बाका धातुका टुक्रा तथा अन्य सामग्री छरिएका छन्।
स्पेनी सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी कम्पनी इरियोका रेल संलग्न थिए। प्रारम्भिक विवरणअनुसार, रेनफेको रेलले इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्