Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा


0
Shares

दाङ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध जिल्ला अदालत दाङमा जालसाजीको मुद्दा दायर भएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै मुद्दा दायर गर्नुभएको हो।

काफ्लेले सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रवक्ता लोकमणि पाण्डे, संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाउनुभएको छ। पार्टीको आधिकारिक निर्णय र अधिकारप्राप्त पदाधिकारीको अनुमतिबिना पत्र तयार गरी प्रयोग गरिएको उहाँको दाबी छ।

यसअघि पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत पुग्नुभएकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

काफ्लेले विवादित पत्रको आधिकारिकता जाँच गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभएको छ।

जसपा नेपालका चार जना प्रदेशसभा सदस्य सरकारको पक्षमा उभिएपछि काफ्लेमाथि कारबाही गरिएको थियो। पार्टीको केन्द्रीय नेतृत्वले ती चारै जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ।

मुद्दामा लगाइएका आरोपको अन्तिम निरूपण अदालतबाट हुनेछ।

Skip This