Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


उपत्यकामा बढ्न थाल्यो चहलपहल, असन र न्युरोडका बजारमा उपभोक्ता बाक्लिए


0
Shares

काठमाडाैं ।

नेपालीहरूको महान चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौं उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ ।

मुख्य चाडपर्व मनाउन गाउँघर पुगेका नागरिकहरू राजधानी भित्रिने क्रम बढेसँगै असन, इन्द्रचोक, न्युरोड लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको हो । विजयादशमीका मुख्य दिनहरू सकिएसँगै काठमाडौं उपत्यकाका सडक तथा बजारहरू फेरि गुल्जार बन्न थालेका छन् ।

दशैँको टीका र आशीर्वाद ग्रहण गर्न आफ्नो पुख्र्यौली घर गएका सर्वसाधारणहरू कार्यथलो फर्किन थालेपछि राजधानीका सडकहरूमा सवारीसाधनको चाप क्रमशः बाक्लिन थालेको छ । सार्वजनिक तथा निजी यातायातको आवागमन बढेसँगै बजारका व्यवसायहरू पनि धमाधम खुल्न थालेका हुन् ।

काठमाडौंका ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र मानिने असन, इन्द्रचोक, भोटाहिटी र न्युरोड क्षेत्रमा उपभोक्ता तथा सर्वसाधारणको उपस्थिति बाक्लिएको छ । दशैँको अवधिमा बन्द रहेका खुद्रा तथा थोक पसलहरू खुल्ने क्रम जारी छ । विशेषगरी खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु र नजिकिँदै गरेको तिहार पर्वका सामग्री खरिद–विक्रीका लागि ग्राहकहरू बजार निस्किएका छन् । व्यवसायीहरूका अनुसार दशैँको टीकाको भोलिपल्टदेखि नै राजधानी फर्किनेहरूको संख्या बढेको र यसले बजारलाई पुनः सक्रिय बनाएको छ ।

न्युरोड क्षेत्रका व्यापारीहरूले दसैँको मुख्य चाप हटे पनि तिहार, छठजस्ता आगामी पर्वहरूलाई लक्षित गरी नयाँ सामान भित्र्याउन र बजार व्यवस्थित गर्न थालेको बताएका छन् । अर्कातर्फ लामो बिदापछि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र निजी प्रतिष्ठानहरू सुचारु हुन थालेकाले सडकमा पैदलयात्रु र कर्मचारीहरूको उपस्थिति थप बाक्लो देखिएको छ ।

ट्राफिक प्रहरीकाअनुसार उपत्यका भित्रिने मुख्य नाकाहरू नागढुङ्गा–थानकोट, जगाती, साँखु र फर्पिङमा सवारीसाधनको आगमन निरन्तर बढिरहेको छ । दशैँमा सुनसान बनेको उपत्यकाका बस्ती तथा मुख्य चोकहरूमा चहलपहल फर्किएसँगै जनजीवन पुरानै लयमा फर्किएको छ ।

Skip This