Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम ८.५ मिटर सतहमाथि पुग्यो


1.6k
Shares

काठमाडौं । गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ ।

नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल बगेका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान शाखाले त्रिशूली र नारायणी करिडोरका तटीय क्षेत्रमा आज दिनभर उच्च शतर्कता अपनाउन आग्रह गरेको छ ।

आईतवार बिहान करिव ४ बजे शुरु भएको बाढी तीन चरणमा आएको तथ्याङ्कले देखाएको छ । बिहान ६ः३० बजेदेखि बढ्न थालेको बाढी ८ः४५ बजेसम्म ८।५ मिटरको सतहमा पुगेको थियो । जुन खतराको तहभन्दा धेरै माथि हो । यसअघि नै बाढी पूर्वानुमान शाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीकाअनुसार गोर्खाको चुमनुब्री गाउँपालिकामा खसेको पहिरोका कारण नदी थुनिएर क्यास्केडिङ इफेक्ट (क्रमिक रूपमा फुट्ने प्रक्रिया) हुँदा बाढी विभिन्न चरणमा आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । उपग्रहबाट प्राप्त तस्बिरहरूमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ ।

उहाँले भन्नुभयो, ‘बुढीगण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीको जानकारी बिहान ५ः३० बजेतिर प्राप्त भएपछि तत्कालै तल्लो तटीय क्षेत्रमा शतर्कता सूचना जारी गरिएको थियो । आरुघाटस्थित बाढी मापन केन्द्रका अनुसार बिहान ६ः३० बजे जलस्तर करिव एक मिटर बढेको थियो। त्यसपछि बिहान ७ः५० बजे पाँच मिटरको खतरा तह पार गरेको र बिहान ८ः४५ बजेतिर जलस्तर ८।५ मिटर पुगेको थियो । त्यसपछि बाढीले मापन केन्द्र र पुल बगाएकाले थप तथ्याङ्क प्राप्त हुन सकेको छैन । बाढीले गेग्रानसहित ठूलो मात्रामा पानी बगाएर ल्याएको देखिएको छ। प्रारम्भिक भू–उपग्रह तस्बिरमा चुमनुब्री गाउँपालिकाको माथिल्लो हिमाली क्षेत्रमा ठूलो पहिरो देखिएको छ । पहिरोका कारण नदी थुनिएर विभिन्न चरणमा खुलेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको छ । जोखिमको आकलनअनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल मध्यम जोखिम रहेको छ । देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले चितवन र नवलपरासी पूर्वका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको प्रभाव कम गर्न र मानवीय क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ । बाढीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’

बाढीका कारण गोरखा क्षेत्रमा फसेका ६ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । हाल बूढीगण्डकीको बाढी त्रिशूलीमा मिसिँदा त्रिशूलीको सतहमा करिव ३ मिटर बहाव बढ्ने आँकलन गरिएको छ।

मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल्लो तटीय क्षेत्रमा मध्यम जोखिम रहेको शाखाले जनाएको छ । साथै, चितवन र नवलपरासीको तटीय क्षेत्रमा समेत नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने भएकाले आज साँझसम्म नदीको अवस्था सामान्य नहुँदासम्म शतर्क रहन सबैमा अपिल गरिएको छ ।