Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव


91
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गर्नुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको उहाँको टिप्पणी छ ।

पूर्वराष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा चुरे संरक्षणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै चुरे क्षेत्रको विनाश रोक्नसके मात्रै हिमालको हिउँ जोगिने, पहाडको पर्यावरण सुरक्षित हुने र तराईको उर्वर भूमि मरुभूमीकरण हुनबाट बच्ने तथ्य बारम्बार औंल्याउँदै आएको दाबी गर्नुभयो । तर सरकार वा कुनैपनि राजनीतिक दलले आफ्नो सुझावलाई गम्भीरतापूर्वक नलिएकोमा उहाँले गुनासो गर्नुभयो ।

डा. यादवले विश्वव्यापी रूपमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरूको संस्थाले दिइरहेको चेतावनी र तथ्यपरक रिपोर्टलाई समेत बेवास्ता गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो ।

अमेरिका लगायतका केही मुलुकका शक्तिशाली नेतृत्वले नै जलवायु परिवर्तनको बहसलाई ‘झुट’ भन्नुले पृथ्वीको भविष्य थप संकटमा परेको उहाँको भनाइ छ । वातावरणीय मुद्दामा देखिएको यो राजनीतिक उपेक्षाले मानव अस्तित्व र प्राकृतिक स्रोत–साधनको दोहनलाई थप जटिल बनाउने चेतावनी उहाँले दिनुभयो ।

डा. यादवले भन्नुभयो, ‘विश्वले अहिले वातावरणीय सङ्कट र ग्लोवल वार्मिङको गम्भीर चुनौती भोगिरहेको छ । तर यस विषयमा विश्वका नेतृत्व र हाम्रो देशका राजनीतिक दलहरूमा समेत आवश्यक दूरदृष्टि देखिएको छैन । राष्ट्रपति हुँदा मैले चुरे संरक्षणको आवश्यकता औँल्याउँदै आएको थिएँ । चुरे जोगाउनसके हिमालको हिउँ, पहाडको वातावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिन्छ । तर सरकारले र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएनन् । दुःखको कुरा, विश्वका केही नेताहरूले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक प्रतिवेदनलाई समेत अस्वीकार गर्दै यसलाई झुटो भन्ने गरेका छन् । जबकि संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले जलवायु परिवर्तनका जोखिमबारे निरन्तर चेतावनी दिँदै आएका छन् । अब पनि हामीले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेनौँ भने यसको गम्भीर असर भविष्यका पुस्ताले भोग्नुपर्नेछ ।’

कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदरपत्रसहित सम्मन गरिएको छ । उहाँले मधुमेही समाजका लागि सबैभन्दा बढी योगदान र अनुदान समेत दिनुभएको आयोजकले बताएको छ ।