विजय पौडेल/सरोज अधिकारी/देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, असोज १५ । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि चुलिँदै गएका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको पनि पाँच महिना बित्न लागेको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेताहरु नै सार्वजनिकरुपमा आलोचना गरिरहेका छन् ।
तरपनि प्रधानमन्त्रीको कार्यशैली सुध्रने संकेत भने देखिएको छैन ।
नेकपा नेता झलनाथ खनलले सरकारको क्रियाकलाप सन्तोषजनक नभएको भन्दै कार्यशैली सुधारमा जोड दिएका छन् ।
सोमबार हामीसित कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा नामको डुंगा खतरामा पर्ने चेतावनी दिए ।
पार्टी एकीकरण भएकै दिन तल्ला तहका सबै कार्यसमिति भंग गरिदिएकाले अलमल भइरहेको उनको भनाइ छ ।
पार्टीभित्रको गुट–उपगुटका कारण सरकारको आलोचना हुँदा अर्को गुट रमाउने शृंखला त छँदैछ ।
तर, नेता खनाल यसले पार्टीलाई अहित गर्ने भन्दै जतिसक्दो चाँडो तत्लो तहसम्म एकता प्रक्रियालाई टुंग्याउन माग गरे ।
स्रोतकाअनुसार अहिले माधवकुमार नेपाल पक्षले नेतृत्वका विषयमा राखिरहेका भनाइ र शैलीप्रति पनि उनी सहमत छैनन् ।
नेकपाभित्र दुई अध्यक्ष मिलेर अधिकांश विषयमा निर्णय गर्ने प्रचलन छ ।
तर, सरकार र पार्टी सन्चालनका लागि शीर्ष तहबाटै यति धेरै असन्तुष्टि सार्वजनिक भइसक्दा पनि स्थायी समितिलगायतको बैठक लामो समयदेखि बस्न सकेको छैन ।
पार्टी सन्चालनको शैली, सरकारको काम–कारबाहीबारे समीक्षा गरेर सुध्रने बाटो तय गर्नका लागि तत्काल स्थायी समिति बैठक राख्नुपर्ने नेता खनालको जिकिर छ ।









प्रतिक्रिया दिनुहोस्