पोखरा । कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको छ।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस ओख्लेमा दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। अहिले प्रहरी र स्थानीयवासी मिलेर उद्धार कार्य जारी राखेका छन्। घाइते विद्यार्थीहरूलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त नभएको सूचना अधिकारी पासवानले बताए। उद्धार कार्य जारी रहेकाले विद्यार्थीको कुल सङ्ख्या र उनीहरूको अवस्थाबारे तत्काल जानकारी दिन नसकिने उनको भनाइ छ।
दुर्घटनामा बस सडकबाट तल खसेको र बसमा ठूलो क्षति पुगेको बताइएको छ। घाइते विद्यार्थीहरूको अवस्थाबारे भने चिकित्सकको परीक्षणपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्