Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


कोप–३१ का अध्यक्ष कुरुमको आह्वानः ‘अब वार्ता होइन, ठोस जलवायु कार्यको समय’


13
Shares

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का लागि मनोनीत अध्यक्ष मुरात कुरुमले विश्व समुदायलाई जलवायुजन्य जोखिम कम गर्न तत्काल ठोस कदम चाल्न आह्वान गर्नुभएको छ ।

फिजीको नाडीमा आयोजित पूर्व–सम्मेलनमा बोल्दै उहाँले अबका छलफलहरू नीतिगत बहसभन्दा माथि उठेर कार्यान्वयनयोग्य परियोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो । टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्रीसमेत रहनुभएका कुरुमले १.५ डिग्री सेल्सियसको विश्वव्यापी तापमान वृद्धिको सीमा नाघ्नु गम्भीर संकटको संकेत भएको औंल्याउनुभयो ।

यद्यपि, यो सीमा नाघ्दैमा जलवायु प्रयासहरू अन्त्य नहुने बताउँदै उहाँले वर्तमानमा लिने निर्णयहरूले नै भविष्यको परिणाम निर्धारण गर्ने स्पष्ट पार्नुभयो ।

कुरुमले भन्नुभयो, ‘अब हामीले के गर्ने भन्ने सैद्धान्तिक बहसबाट माथि उठेर वैज्ञानिक तथ्यहरूलाई ठोस नीतिमा, नीतिलाई परियोजनामा र परियोजनालाई मापनयोग्य नतिजामा रूपान्तरण गर्नुपर्ने बेला आएको छ ।’

उहाँको नेतृत्वमा टर्कीले १.५ डिग्रीको लक्ष्यलाई जीवित राख्न दीर्घकालीन संयन्त्र निर्माण गर्ने अठोट लिएको छ । बैठकले विश्वका ५० भन्दा बढी मुलुकका मन्त्री र जलवायु वार्ताकारहरूलाई एकै ठाउँमा ल्याएको छ ।

यस भेलाले औपचारिक वार्ताअघि विभिन्न राष्ट्रका प्राथमिकता र विवादका विषयहरू पहिचान गरी सहमति जुटाउने आधार तय गर्ने लक्ष्य राखेको छ । बैठकमा जलवायु वित्तमा पहुँच, महासागर र जलवायुबीचको अन्तरसम्बन्ध तथा नवीकरणीय ऊर्जातर्फको संक्रमणजस्ता मुख्य मुद्दाहरूमा गहन छलफल भइरहेको छ ।

सहभागी राष्ट्रहरूले कोप–३१ लाई जलवायु एजेण्डाको एउटा ‘टर्निङ प्वाइन्ट’ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।