Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


भारतका दिग्गज अभिनेता नाना पाटेकरको निधन


689
Shares

काठमाडौं । भारतीय सिनेजगतका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा गम्भीर कार्डियक अरेस्ट भएपछि बिहीबार बिहान उहाँलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उहाँको निधन भएको हो।

मणिपाल अस्पतालका चिकित्सक डा. शेखर सालकरका अनुसार पाटेकरलाई गम्भीर कार्डियक अरेस्ट भएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। उहाँलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिन्दी तथा मराठी सिनेमामा प्रभावशाली अभिनयका लागि परिचित पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘यशवन्त’, ‘अग्निसाक्षी’ लगायतका चलचित्रमा स्मरणीय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको अभिनय शैली, संवाद प्रस्तुत गर्ने विशिष्ट क्षमता र पर्दामा देखिने प्रभावशाली उपस्थितिले उहाँलाई भारतीय सिनेमामा अलग पहिचान दिलाएको थियो।

सन् १९९१ मा प्रदर्शनमा आएको ‘प्रहार’ चलचित्रका लागि पाटेकरले भारतीय सेनाबाट कठोर सैन्य तालिमसमेत लिनुभएको थियो। अभिनय क्षेत्रमा योगदानका लागि उहाँ तीनपटक राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित हुनुका साथै पद्मश्रीबाट समेत विभूषित हुनुभएको थियो।