काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। महाधिवेशनमा सहभागी सात हजार ११४ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्।
निर्वाचन समितिले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको काम अघि बढाएको छ। निर्धारित कार्यतालिकाअनुसार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।
यसपटक कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था गरिएको छ। यससँगै उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन बनाइएको छ भने तीमध्ये एक पदमा महिला अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्रीको पद थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको छ। संशोधित विधानमा प्रवक्ताको पदसमेत थप गरिएको छ। पार्टीका अनुसार आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको छ।









प्रतिक्रिया दिनुहोस्