Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


न्याय परिषद् बैठक आज बस्दै


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको विषयमा छलफल गर्न न्याय परिषद्को बैठक आज बस्दैछ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माले दिउँसो १ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो। बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने जनाइएको छ।

सर्वोच्चमा अहिले चार न्यायाधीशको पद रिक्त छ। त्यसैगरी आगामी कात्तिक १६ गते अनिवार्य अवकाशमा जाने तयारीमा रहनुभएका न्यायाधीश विनोद शर्माको स्थानमा समेत नियुक्तिका लागि सिफारिस गर्ने तयारी रहेको स्रोतले जनाएको छ। यसअनुसार परिषद्ले पाँच न्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना रहेको छ।

प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा हाल १७ जना न्यायाधीश कार्यरत छन्।

प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा रहने न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहनुभएको छ।