काठमाडौं । नेपालमा अहिले मनसुनी वायु र पश्चिमी वायुको मिश्रित प्रभाव देखिएको छ। कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव बढी रहेको छ। यस्तै, कोशी, मधेस र बागमतीका सबै क्षेत्रमा तथा गण्डकी र लुम्बिनीका अन्य भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश भूभागमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आकाश सामान्यतया बादलले ढाकिएको छ। अन्य क्षेत्रमा भने आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा कोशीका एक–दुई ठाउँमा अहिले मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, पहाडी क्षेत्रका केही ठाउँ र तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा पनि सामान्य बदली रहने भए पनि अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। पहाडी भूभागका केही स्थानमा भने चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्