प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई महेन्द्रनगर र बाँकी नेपालसँग जोड्ने ऐतिहासिक महाकाली झोलुङ्गे पुल चुँडिएपछि सर्वसाधारणको आवतजावत ठप्प भएको छ । असोज १४ गते बुधबार बिहान पुलको पश्चिमतर्फको तेस्रो पिल्लर महाकाली नदीमा खसेपछि संरचना बीच भागमै चुँडिएको हो । पिल्लर खसेसँगै पुलको एक भाग नदीमा झुण्डिएको छ । पुल भत्किएलगत्तै पैदल यात्रु र दुईपांग्रे सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ ।
घटनालगत्तै स्थानीय पूर्वाधार विकास विभागको टोलीले पुलको प्राविधिक अध्ययन सुरु गरेको छ । विभागका उपमहानिर्देशक कमल कुमार अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरी क्षति मूल्याङ्कन गरिरहेको छ । प्राविधिक अध्ययनको निष्कर्ष आएपछि मर्मत वा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
चारपांग्रे सवारीसाधनका लागि एक किलोमिटर उत्तरमा चार लेनको मोटरेबल पुल सञ्चालनमा रहे पनि पैदल यात्रु र दुईपांग्रे सवारीका लागि यो झोलुङ्गे पुल नै मुख्य सहारा थियो। पुल बन्द हुँदा स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ भने आसपासका साना व्यापारीको व्यवसाय ध्वस्त भएको छ ।
वि.सं. २०५८ मा निर्माण सुरु भई २०६१ मा सम्पन्न भएको यो १ हजार ४ सय ५२ मिटर लामो पुल कुनै समय एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चर्चित थियो । पुल बन्नुअघि दोधारा चाँदनीका बासिन्दाले स्वदेशकै अन्य भागमा पुग्न भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता थियो । यो पुलले शिक्षा, स्वास्थ्य र व्यापारमा क्रान्ति ल्याउनुका साथै ठूलो पर्यटकीय आकर्षणसमेत बनेको थियो ।
दोधारा चाँदनीको जीवनरेखा मानिने यो पुल केवल आवतजावतको माध्यम मात्र नभई स्थानीय आर्थिक गतिविधिको मुख्य आधार हो । त्यसैले प्राविधिक अध्ययनलाई तीव्रता दिई चाँडोभन्दा चाँडो मर्मत वा पुनर्निर्माण गरेर पुल सञ्चालनमा ल्याउन स्थानीयको जोडदार माग छ ।









प्रतिक्रिया दिनुहोस्