काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले रसुवाको भोटेकोशी–त्रिशूली कोरिडोरमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि विपद् प्रतिकार्यबारे सुरक्षा निकायहरूसँग छलफल गरेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकमा बाढीपछिको खोज, उद्धार, राहत र पुनः स्थापनाका विषयमा सुरक्षा निकायहरूसँग छलफल भएको हो । बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण सिर्जित विपद्पछिको पुनः स्थापनाका क्रममा प्रभावित समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा प्रणालीलाई गम्भीरतापूजर्वक लिनुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुजाता तामाङले एकीकृत बस्ती पुनः निर्माण गर्दा बाढी प्रभावित समुदायको परम्परागत जीविकोपार्जनका आधारलाई समेत समेट्नुपर्ने बताउनुभयो ।
उहाँले बाढी विस्थापित नागरिकलाई स्थायी बसोबासको व्यवस्था गर्दा घर, सडक र खानेपानी जस्ता पूर्वाधारसँगै खेतीपाती, पशुपालन तथा स्थानीय जैविक विविधताको संरक्षणलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
बाढी प्रभावित नागरिकका लागि तत्काल सुरक्षित आवास आवश्यक भएपनि दीर्घकालीन रूपमा प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन उनीहरूको जीविकोपार्जनका आधार पुनः स्थापित गर्नेकुरा सरकारको प्राथमिकतामा पर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘नागरिकको जीविकोपार्जनको कुरा पुनः स्थापना गर्नुपर्छ । प्रभावित नागरिकको स्थायी बसोबासको कुरा गर्दाखेरि एकीकृत बसोबासको कुरा पनि आएको छ । त्यहाँ खानेपानीदेखि सडक सबैको कुरा आएको छ । तर त्यो एकीकृत बस्ती भनिरहँदा र ग्रामीण जनजीविका सम्झिरहँदा खेरि चाहिँ त्यहाँ खेतीपाती जोडिन्छ, बस्तुभाउ जोडिन्छ, बाख्रा जोडीएला, भैँसी, सुँगुर जोडीएला, जैविक विविधताका कुरा पनि आउला । यो सबै कुरा हामीले बिर्सिनुहुँदैन भन्ने हो ।’
नेपाली काँग्रेसका सांसद मोहन आचार्यले रसुवामा विपद्का बेला उद्धार तथा राहत वितरणमा प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्नुभयो । उहाँले उद्धार तथा राहतका लागि छुट्टाछुट्टै क्षेत्रको जिम्मेवारी तोकिँदा बाढी प्रभावित जिल्लाका कयौँ नागरिक लामो समयसम्म पनि राहतबाट बञ्चित भएको बताउनुभयो ।
उहाँले राज्यका संयन्त्र र समुदायबीच प्रभावकारी संवाद र सहकार्य नहुँदा बाढी प्रभावित नागरिकसम्म समयमै सहायता पुर्याउन नसकिएको बताउनुभयो। सांसद आचार्यले बाढी प्रभावित नागरिकको पुनः स्थापनाको लागि जग्गा सीमित मात्रामा मात्र रहेको कारण दीर्घकालीन व्यवस्थापनमा समस्या हुनसक्नेतर्फ राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । विपद्पछिको पुनर्निर्माण गर्दा सुरक्षित आवाससँगै स्थानीय नागरिकको जीविकोपार्जनलाई जोड्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘यो डिजास्टरको क्रममा हाम्रो सुरक्षा निकायमा कम्युनिकेसनको ग्याप भयो । म आफैं एक जनप्रतिनिधि भएको कारण सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीसँग जुन हिसाबको समन्वय हुनसक्नुपथ्र्यो त्यो हिसाबको समन्वय हुन नसकेको हो । अब पुनस्र्थापना, पुनर्निर्माणक सेन्सेटिभ छन् । यसमा हामी सबै गम्भीर भएर लाग्नुपर्छ । पुनः स्थापना र पुनः निर्माणसँगै नागरिकको जीविकोपार्जनलाई पनि जोड्नुपर्छ ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाढीपछिको पुनः निर्माणमा जनजीविकालाई जोड्ने कुरामा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरूले बाढीपछिको तत्कालको खोज, उद्धार र राहत वितरणबारे बैठकमा ब्रिफिङ गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्