काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा उहाँले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिँदै सत्तापक्षले संसदलाई केवल प्रतिछायाको रूपमा प्रयोग गरेको आरोप लगाउनुभएको हो । संसद बैठकलाई सम्बोधन गर्दै नेता थापाले गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको स्पष्ट पार्नुभयो ।
सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै उहाँले विधि निर्माण प्रक्रियामा सत्तापक्षले संकुचित सोच राखेको आरोप लगाउनु भयो । संसद्मा दर्ता भएका दर्जनौँ विधेयकहरूमा प्रतिपक्षको सुझावलाई स्थान नदिई सरकारले ‘एकाधिकार’ लादेको उनको दाबी छ । साथै, नेता थापाले संसदका सभामुखको भुमिकामाथि पनि प्रश्न उठाउनुभयो ।
राजनीतिक सहमतिको लागि सभामुखले ठोस अगुवाइ गर्न नसकेको उहाँको भनाइ छ । यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने जमर्को गर्नु र सत्तापक्षका केही सांसदहरूले सरकारको कार्यशैलीमा प्रश्न उठाउनु सकारात्मक संकेत भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ । लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले सङ्ख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ ।’
भदौ १० को महाविपत्तिपछि रास्वपा सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै उहाँले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगर्नु त्रुटिपूर्ण भएको औँल्याउनु भयो । पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्लो समयका राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर रहेको उहाँको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्