Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


जापानमा महँगीको मारः अक्टोबरमा ३ हजारभन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने


0
Shares

काठमाडौं । जापानमा अक्टोबर महिनादेखि ३,१५३ भन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ ।

कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमजोर जापानी येनका कारण उत्पादक कम्पनीहरूले लागतको भार उपभोक्तामाथि सार्न बाध्य भएपछि मूल्यवृद्धि थपिएको हो ।

अनुसन्धान कम्पनी ‘तेइकोकु डाटाबैंक’ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सेप्टेम्बर महिनामा ४,९६५ वस्तुको मूल्य बढेपछि अक्टोबरमा पनि मूल्यवृद्धिको अर्को लहर देखिएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेल र नाफ्थाको मूल्यमा भएको वृद्धिले प्याकेजिङ सामग्रीको लागत बढाएको छ, जसले सिधै खाद्यवस्तुको बजार मूल्यलाई प्रभावित पारेको छ । यस वर्षको तथ्यांक हेर्ने हो भने सन् २०२६ मा हालसम्म २०,१८७ वटा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि भइसकेको वा हुने क्रममा रहेको छ ।

लगातार दोस्रो वर्ष मूल्यवृद्धि हुने वस्तुको संख्या २० हजार नाघ्नुले जापानी उपभोक्ताको जीवनयापनमा परेको प्रभावलाई स्पष्ट पारेको छ । अक्टोबरमा मूल्य बढ्ने सूचीमा पेय पदार्थहरू सबैभन्दा अगाडि छन्, जसमा १,३९९ प्रकारका वस्तुहरू परेका छन् ।

त्यसैगरी, ८२० प्रकारका मसलाजन्य वस्तु र ६६८ प्रकारका प्रशोधित खाद्य पदार्थको मूल्य पनि बढ्ने अनुमान गरिएको छ । खाद्य र पेय पदार्थ मात्र नभएर अक्टोबर महिनामा जापानभर ग्यास र विद्युत्को महसुलमा पनि वृद्धि हुने सम्भावना रहेको छ ।