काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि १० दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न विद्युत् कटौती गर्न लागेको हो।
प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
निर्धारित तालिकाअनुसार १५ असोजमा सतुंगल–बौथली, १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसीचोक, १७ र २० गते मूलपानी क्षेत्रमा विद्युत् कटौती हुनेछ।
त्यस्तै, १८ गते गुर्जुधारा, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरि आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ।
मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् कटौती नगरिने प्राधिकरणको भनाइ छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा रहेका तार व्यवस्थापन र सहरी सौन्दर्यमा समेत सुधार पुग्ने प्राधिकरणले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्