Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सरकारको कार्यक्षमतामा एमाले सचिव अर्यालको प्रश्नः ‘जनतालाई ग्याँस त दिनुस्’


0
Shares

काठमाडाैं । नेकपा (एमाले) की सचिव पद्या अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीप्रति प्रश्न उठाउनुभएको छ ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न र महँगी नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभएको हो ।

सचिव अर्यालले राजनीतिक आन्दोलन र जेलनेलको विगत स्मरण गर्दै आफूहरू कुनैपनि दबाब वा असुरक्षाको डरबाट विचलित नहुने बताउनु भयो । सरकारप्रति आक्रोश पोख्दै अर्यालले ठूला सपना बाँड्नुभन्दा पनि जनतालाई राहत दिने काममा केन्द्रित हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी हिजो परिवर्तनको आन्दोलनका क्रममा जेल बसेर आएका मान्छे हौँ । साँचो बोल्दा जेल परिन्छ वा असुरक्षित भइन्छ भन्ने डरले हामी आफ्नो कर्तव्यबाट पछि हट्दैनौँ । हामीले सरकारसँग ठूला उत्पात काम खोजेका छैनौँ । जनतालाई ठग्न भएन, राष्ट्रलाई कमजोर हुन दिन भएन । कम्तीमा जनतालाई ग्याँस उपलब्ध गराउनुस् र महँगी नियन्त्रण गर्नुहोस् । यति सामान्य काम पनि सरकारले गर्न सकेको छैन ।’

आफ्नो अभिव्यक्तिमार्फत उहाँले सरकारको प्रशासनिक र व्यवस्थापकीय दक्षतामाथि प्रश्न उठाउँदै सरकारले जुन ढंगले क्षमता प्रदर्शन गर्नुपर्ने हो, त्यसमा पूर्ण रूपमा चुकेको टिप्पणी गर्नुभयो । जनताको दैनिक जीविका प्रत्यक्ष जोडिएका विषयमा सरकार उदासिन बनेको भन्दै उनले नेतृत्वको आलोचना गर्नुभयो ।