Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


हिमलुङ हिमपहिरो: ११ जना परिवारको सम्पर्कमा, १२ अझै बेपत्ता


208
Shares

काठमाडौँ । मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोबाट जोगिएका ११ जना परिवारको सम्पर्कमा पुगेका छन्। हिमालयन होलिडेजका सात र इम्याजिन नेपालका चार जना सकुशल रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिकूल मौसमको पूर्वसूचना पाएपछि उनीहरू आधार शिविरको तल्लो क्षेत्रमा ओर्लिएका कारण हिमपहिरोबाट जोगिन सफल भएको प्रशासनले जनाएको छ। हिमपहिरोपछि फर्किएका उनीहरू आइतबार साँझ नार्पाभूमि गाउँपालिकाको फू गाउँ पुगेका थिए। उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

प्रशासनका अनुसार हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये हिमालयन होलिडेजका १० र इम्याजिन नेपालका दुई जना रहेका छन्।

यसैबीच, हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ। सोमबार घटनास्थल पुगेको उद्धार टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको थियो। उनीहरूको शव मंगलबार चामे ल्याएर कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ।

यसअघि आइतबार छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूका शव पनि सोमबार हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।