Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्ने छ : संयाेजक दाहाल


0
Shares

काठमाडाैं ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःशाहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पूर्वप्रधानन्यायाधीश शम्शेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ संकेत गर्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो । उहाँले अगामी दिनमा यस्तो दुःशाहस नगर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यो सरकारको लागि भारी पर्छ । यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु । र यस्तो घटना नदोहो¥याउनको लागि म सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउन चाहान्छु । यो लाटो मान्छेले पनि बुझेको छ सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने कुरा । यदि त्यसो भने त सुरक्षा बढाइदिने हो नि । युएनमा प्रधानमन्त्रीले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको देख्छु । अर्को कुरा के हो भने हामीले कसैलाई बढाईचढाई गर्न जरुरी पनि छैन । बालेनजीको ठाउँमा अरु कोही गएको भएपनि अहिले बोल्ने त्यही कुरा हुन्थ्यो । बालेन गएर यो कुरा बोले अरु गएको भए बोल्दैन्थ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन । पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ । जे भएपनि यदि सरकारले यदि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ ।’

संयोजक दाहालले संयुक्त राष्ट्रसंघ ८१ औँ प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसावले स्वभाविक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले प्रधानमन्त्री साहको सम्बोधनको विषयलाई अनावश्यक बढाइचढाइ गर्न नहुने बताउनु भयो ।