Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


महाकालीको बहाव घट्यो, बनबासा पुलबाट चारपाङ्ग्रे सवारी चल्न थाले


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेर एक लाख क्युसेकभन्दा तल झरेपछि भारतको बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार सोमबार बिहान ११ बजे शारदा ब्यारेजमा महाकालीको बहाव ९८ हजार २ सय ७२ क्युसेक मापन गरिएको थियो।

शनिबार साँझ एक लाख क्युसेक नाघेको बहाव आइतबार दिउँसो २ बजे १ लाख ७७ हजार ९ सय २ क्युसेकसम्म पुगेको थियो। बहाव बढेपछि सुरक्षाका लागि बनबासा पुलबाट चारपाङ्ग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमन रोकिएको थियो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार महाकालीको बहाव दुई लाख क्युसेक नाघेमा दुईपाङ्ग्रे सवारीसाधन र पैदल आवागमनसमेत रोक्ने गरिएको छ।

बहाव घट्दै गए पनि नदी तथा खोलानालाको पानीको सतह अझै सामान्य अवस्थामा नफर्किएकाले जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। तटीय तथा डुबानको जोखिममा रहेका बासिन्दालाई सतर्क रहन र नदी तथा खोलानालामा नजान प्रशासनले आग्रह गरेको छ।