Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्यः उपकुलपति डा. थापा


0
Shares

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा‍‍‍. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानहरूबीचको सुमधुर सहकार्यले मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ ।

ललितपुरमा आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनको तालमेल आजको आवश्यकता भएको बताउनुभएको हो ।

उपकुलपति डा. थापाले आफू एउटा प्राज्ञिक वातावरणबाट प्रशासनिक जटिलता बोकेको विश्वविद्यालयमा पुगेको प्रसंग उल्लेख गर्दै व्यवस्थापकीय कौशलको अभावमा ठूला संस्थाहरूमा पनि समस्या देखिने गरेको बताउनुभयो ।

उहाँले विश्वविद्यालयबाट प्राप्त हुने सैद्धान्तिक ज्ञान मात्रै निजामती वा सुरक्षा क्षेत्रको प्रभावकारी कार्यसम्पादनका लागि पर्याप्त नहुने भन्दै निरन्तरको तालिम र व्यावहारिक प्रशिक्षण अपरिहार्य रहेको बताउनुभयो ।

डा. थापाले त्रिभुवन विश्वविद्यालय र अन्य तालिम प्रतिष्ठानहरूलाई एकीकृत ढाँचामा जोडेर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले त्रिभूवन विश्वविद्यालयको ३२ अर्ब बेरुजुको विषयलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै भन्नुभयो, त्यहाँ कसैले जानी–जानी नराम्रो काम गरेको होइन, तर शिक्षक आफैँमा पूर्ण प्रशासक हुन नसक्दा निर्णय प्रक्रियामा त्रुटि भई बेरुजु देखिएको हो । यस्ता तालिम प्रदायक संस्थाहरू र विश्वविद्यालयको बीचको सम्बन्ध एकदमै सुमधुर हुनुपर्छ, बलियो हुनुपर्छ । एकआपसमा सिक्दै हाम्रा आफ्नो उद्देश्यको अनुसारको कार्य गर्नुपर्छ भन्ने म म विश्वस्त छु र म अ त्यसको एकदमै सफल उदाहरण पनि हुँ जस्तो लाग्छ । प्राज्ञिक कामसँगै प्रशासनिक र व्यवस्थापकीय दक्षताको निरन्तर विकास गर्नुपर्छ । यो एकपटक पढेर सकिने विषय होइन, समयअनुरूप आफूलाई परिमार्जित गरिरहनुपर्ने निरन्तरको प्रक्रिया हो ।’

उहाँले विश्वविद्यालय र तालिम संस्थाहरूले एक–अर्काको अनुभवबाट सिक्दै अगाडि बढे मात्रै दुवैको गन्तव्य र राष्ट्रिय उद्देश्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।