Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर)


13
Shares

काठमाडाैं ।

कठमाडौंका प्राचीन इँटाले बनेका गल्लीहरूमा जब धीमे बाजाको ‘घिं तां तां घिं’ तालको गति बढ्दै गयो, तब हजारौँको भीड एकैपटक चिच्यायो– ‘लाखे आयो, लाखे आयो’ ।

रातो कपाल फिँजाएर, आँखा तरेर र हातमा रङ्गीबिरङ्गी पखेटा फैलाएर जब माजिपा लाखे आजु अगाडि बढे, सडकको चिसो ढुङ्गामा तातो कम्पन छुट्यो । सँगै किलागलको चोकबाट घण्टा बजाउँदै निस्किएको सेतो ऐरावत हात्ती ‘पुलुकिसी’ र सेतो फेटा बाँधेर लाखेलाई जिस्क्याउने फुच्चे ‘झ्यालिन्चा’ ले काठमाडौंको ऐतिहासिक कोर क्षेत्रलाई जात्रामय बनाएको छ । संसारमा दानव वा राक्षसलाई शत्रु ठानिन्छ, तर नेवार संस्कृतिमा दानवलाई पनि सम्मान र प्रेम दिएर ‘आजु’ (हजुरबुबा–कुलदेवता) को दर्जा दिइन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा काठमाडौंको मझिपट क्षेत्रमा जंगल थियो । त्यहाँ एक नरभक्षी लाखे (दानव) बस्थ्यो । एकदिन उसले मझिपटकी एक सुन्दरी ज्यापू युवतीलाई देख्यो र पहिलो नजरमै गहिरो प्रेममा प¥यो । युवतीको प्रेम पाउनका लागि उसले आफ्नो भयानक रुप त्यागेर सामान्य मानिसको भेष धारणा ग¥यो ।

तर जब शहरबासीले उसको वास्तविक परिचय थाहा पाए, उनिहरूले उसलाई समातेर राजा गुणकामदेवको अगाडि पु¥याए । राजाले उसको साँचो प्रेम र निष्ठा देखेर एउटा शर्तमा जीवनदान दिए, ‘तिमीले यो नगरको जनताको बाह्य शत्रु, रोगव्याधि र विपत्तिबाट सधैँ रक्षा गर्नुपर्नेछ ।’ लाखेले यो शर्त स्वीरकार गरे।

त्यसपछि लाखे नगरको रक्षक बने । उनलाई ‘माजिपा लाखे’ (मझिपटको लाखे) र तान्त्रिक भाषामा ‘शान्त भैरव’ का रूपमा प्रतिष्ठापित गरियो । आज पनि लाखेलाई राक्षस होइन, नगरको अभिभावकका रुपमा पुजिन्छ । लाखे जात्राको सबैभन्दा कौतुहलपूर्ण र भावनात्मक पाटो भनेको ‘झ्यालिन्चा’ सँगको द्वन्द्व हो । झ्यालिन्चाको अर्थ नेपाल भाषामा ‘झ्यालबाट चियाउने वा जिस्क्याउने’ भन्ने बुझिन्छ ।

सेतो कछाड, सेतो फेटा र घाँटीमा घण्टीको माला लगाएका एक साना बालक लाखेको अगाडि–अगाडि नाच्छन् । उनले लाखेलाई बकुल्लाको चारो (भुटेको मकै वा चामल) देखाउँदै जिस्क्याउँछन् । लाखे उनलाई समात्न झम्टिन्छन्, तर फुर्तिलो झ्यालिन्चा हावाको वेगमा छलिन्छन् ।

यो दृश्य हेर्न सडकमा जम्मा भएका मानिसहरू हाँसो र तालीले स्वागत गर्छन् । संस्कृतिविद्हरूकाअनुसार झ्यालिन्चाले मानिसभित्रको बालसुलभ निर्दोषता र चञ्चलताको प्रतिनिधित्व गर्दछ । जस्तोसुकै ठूलो क्रोध र भयानक शक्तिलाई पनि निष्कपट हाँसो र चतुरताले शान्त पार्न सकिन्छ भन्ने गहिरो सन्देश यस नृत्यले दिन्छ । काठमाडौंको किलागल टोलबाट निस्कने ‘पुलुकिसी’ इन्द्रजात्राको अर्को विस्मयकारी लोकनृत्य हो ।

नेपाल भाषामा ‘पुलु’ को अर्थ बाँसको कप्टेरो र ‘किसी’ को अर्थ हात्ती हुन्छ । यो सेतो हात्ती स्वर्गका राजा देवराज इन्द्रको वाहन ‘ऐरावत’ को प्रतीक हो । पौराणिक कथाअनुसार स्वर्गबाट पारिजात फूल चोर्न मत्र्यलोक आएका देवराज इन्द्रलाई काठमाडौंवासीले चोर ठानेर डोरीले बाँधेर बन्दी बनाएका थिए । आफ्नो मालिक नफर्केपछि चिन्तित बनेको ऐरावत हात्ती इन्द्रको खोजीमा काठमाडौँका गल्ली–गल्लीमा उन्मत्त भएर दौडिएको थियो ।

पुलुकिसीको बाँसको ढाँचाभित्र दुईजना बलिष्ठ युवाहरू पसेर हात्तीलाई कुदाउँछन् । हात्तीको पुच्छर हल्लाउँदै र घाँटीको ठूलो घण्टी बजाउँदै जब पुलुकिसी गल्लीमा दौडिन्छ, सडकका मानिसहरू छेउ लागेर बाटो छोडिदिन्छन् । किलागल, असन, जनबहाल र वसन्तपुरका स्थानीय बासिन्दाहरूले पुलुकिसीको स्वागतमा सयपत्री फूल, अक्षता र फलफूलको

पूजा चढाउँछन् । यस वर्ष पनि हजारौँ भक्तजनहरूले पुलुकिसीको दर्शन गरी आशिर्वाद लिएका छन् । धेरैलाई लाग्थ्यो आधुनिक प्रविधि र व्यस्त जीवनशैलीले परम्परागत जात्रा हराउँदै जानेछ, तर काठमाडौंको गल्लीमा देखिएको दृश्यले ठिक उल्टो प्रमाणित ग¥यो ।

यसपटकको जात्रामा सबैभन्दा उल्लेख्य पक्ष भनेको युवाहरूको अभूतपूर्व सहभागिता थियो। रातो टि–सर्टमा सजिएका सयौँ युवाहरूले जात्राको व्यवस्थापन, भीड नियन्त्रण र अग्रपंक्तिको सुरक्षा जिम्मा लिएका थिए ।
हातमा अत्याधुनिक क्यामरा, स्मार्टफोन र गिम्बल लिएका हजारौँ किशोर–किशोरीहरूले प्रत्यक्ष प्रशारण, रिल्स र भिडियो बनाएर लाखेको वैभवलाई संसारभर पु¥याइरहेका थिए ।
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल