काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले को जोखिम खतराको विन्दुमा पुगेको चेतावनी दिनुभएको छ ।
राष्ट्रसंघको ८१औं महासभालाई आज न्युयोर्कमा सम्बोधन गर्दै महासविच गुटेरसले जलवायु परिवर्तनको संकटलाई आधुनिक युगको ‘सबैभन्दा गहिरो अन्तरपुस्ता शक्ति असन्तुलन’ का रूपमा प्रस्तुत गर्नुभयो ।
तीन वर्षअघि आफूले नेपालका हिमाली क्षेत्रको भ्रमणपछि हिमनदीहरू तीव्र गतिमा पग्लिँदै जानुलाई ‘संसारको छाना भत्किँदै छ’ भनेर चित्रण गरेको र अहिले त्यो बढ्दो विश्वव्यापी विपत्तिको रुपमा देखिन थालेको बताउनुभयो ।
आफ्नो भनाइलाई त्यति बेला केही मानिसहरुले बढाई चढाई गरेको भनेर नजर अन्दान गरेको स्मरण गर्दै उहाँले हालैका घटनाहरुले खतरा कुन तहमा पुगिसकेको छ भन्ने प्रष्ट पारेको बताउनुभयो । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य नाघ्ने अवस्था लगभग निश्चितप्रायः रहेको भन्दै गुटेरसले जलवायु परिवर्तनका प्रभावहरू अनुमान गरिएभन्दा छिटो देखिन थालेको, अझ कडा रूपमा असर गरिरहेको र अझ टाढासम्म फैलिरहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले रुस–युक्रेन द्वन्द्व सुरु भएयताका भूराजनीतिक तथा आर्थिक परिवर्तनलाई औँल्याउँदै गुटेरेसले पाँच ठूला पश्चिमा तेल कम्पनीले झन्डै आधा खर्ब डलर नाफा कमाएको उल्लेख गर्नुभयो ।
यसको विपरीत, विकासोन्मुख देशहरूका लागि अन्तर्राष्ट्रिय सार्वजनिक अनुकूलन वित्त पछिल्लो प्रतिवेदन वर्षमा ३४ अर्ब डलरमा सीमित रहेको उहाँको भनाइ थियो ।
जसले सबैभन्दा बढी प्रदूषण गरे र सबैभन्दा बढी नाफा कमाए, उनीहरूले आफूले पुर्याएको क्षति मर्मत गर्न अझ धेरै गर्नुपर्छ भन्दै गुटेरेसले प्रदूषकहरूले नै क्षतिपूर्ति तिर्नुपर्छ भन्नुभयो ।
घाम कसैको निजी सम्पत्ति होइन र हावालाई नाकाबन्दी गर्न सकिँदैन भन्दै उहाँले नवीकरणीय ऊर्जा विश्वव्यापी रूपमा नयाँ विद्युत् उत्पादनको सबैभन्दा सस्तो स्रोत र ऊर्जा सुरक्षाको सबैभन्दा व्यावहारिक मार्ग बनेको उल्लेख गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्