काठमाडाैं । नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण र अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च शतर्कता र सावधानी अपनाउन अपिल गरेको छ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि बोर्डले यस्ताे अपील गरेकाे हाे। बोर्डले विशेषगरी यहि असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे गतिविधि स्थगित गर्न समेत आग्रह गरेको छ।
बोर्डका प्रवक्ता सुनिल शर्माले हाल पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै सावधानी अपनाउन जोड दिनुभयो । विभागले असोज ७ गते बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने जनाएकाे छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हाे । त्यसैगरी, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। खराब मौसमका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचनाहरू निरन्तर पछ्याउन आग्रह गरेको हाे ।
बोर्डले कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पर्यटन व्यवसायीहरूसँग समन्वय गरी यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीहरूलाई आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्