Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


फ्लाई दुबईले पोखरा विमानस्थलमा आजदेखि नियमित हवाई उडान गर्दै


390
Shares

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान शुरु गर्दैछ।

अङ्ग्रेजी नयाँ वर्षको दिन २०७९ साल पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेकाे समयमा फ्लाई दुबईको नियमित उडान शुरु हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी, उद्योगीलगायत उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएकाे छ। फ्लाई दुबईको विमान बुधबार साँझ सवा ६ बजे पोखरामा अवतरण गर्ने भएकाे उहाँले बताउनुभयाे। यात्रु लिएर बुधबार साँझै सवाँ ७ बजे दुबईका लागि प्रस्थान गर्ने भएकाे छ ।

विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिने भएकाे हाे। अध्यागमन, भन्सार, कार्गोलगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो । राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको कामका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको उहाँले बताउनुभएको छ ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा-दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदले जनाएकाे हाे। साथै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको समेत बताउनुभएकाे छ ।

Skip This