एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने प्रस्तावित शिखर सम्मेलनअघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीबीच उच्चस्तरीय वार्ता शुरू भएको छ।
समाचार संस्था एएफपीले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार न्युयोर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको जनाएकाे हाे । साेही वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच यहि अशाेज ८ गते बिहीबार वाशिङ्टनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति शृङ्खला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलनअघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेकाे एएफपीले जनाएकाे हाे । अमेरिका र चीनबीच चलिरहेकाे व्यापार युद्धविराम २ महिनापछि आगामी नोभेम्बरमा समाप्त हुँदैछ । व्यापार युद्धविराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा गरिएकाे छ ।
अमेरिका र चीनबीचको वार्तामा इरानसँग सम्बन्धित आर्थिक विषय पनि उठ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेका हुन् । चीन इरानको प्रमुख आर्थिक साझेदार र इरानको ठूलो मात्रामा तेल खरिद गर्ने देश पनि हो । चीनले इरानलाई कूटनीतिक रूपमा समेत समर्थन गर्दै आएकोले इरानसँग चीनको आर्थिक सम्बन्धलाई लिएर अमेरिकाले चासो राखेको छ ।
विश्लेषकहरूले भने ट्रम्प-सी शिखर सम्मेलनबाट तत्कालै ठूलो आर्थिक वा रणनीतिक सम्झौता हुने अपेक्षा कम रहेको बताउँदै आएका छन् । दुवै देशबीचको सम्बन्धमा थप तनाव बढ्न नदिने र अहिले कायम व्यापारिक युद्धविरामलाई निरन्तरता दिने विषय नै तत्कालको महत्त्वपूर्ण उपलब्धि हुन सक्ने विश्लेषकहरुको ठहर रहेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्