Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यावधि चुनाव नजिकिंदै गर्दा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक


442
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकिँदै गर्दा आफ्नो प्रशासनका २५ वटा ‘शीर्ष उपलब्धि’ सार्वजनिक गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले शनिबार राति सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लामो सूची सार्वजनिक गर्नुभएको हो । अमेरिकाले ‘इतिहासकै सबै भन्दा सुरक्षित सीमा’ सम्बन्धी उपलव्धी हासिल गरेको र पछिल्लो १६ महिनामा अमेरिकामा गैरकानूनी आप्रवासी प्रवेश शून्यमा झरेको उहाँले दावी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीतिसहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी सञ्चार माध्यमले जनाएका हुन् । उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभएको छ । विदेश नीतितर्फ उहाँले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको समेत जिकिर गर्नुभयाे ।

इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनीतिक विषय बनेको छ । राष्ट्रपति ट्रम्पले व्यापारका क्षेत्रमा विदेशी वस्तुमाथि लगाइएको उच्च भन्सार महसुललाई पनि उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयाे।

त्यसैगरी, अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषा बनाइएको, कर तथा ऊर्जा नीतिमा परिवर्तन गरिएको र अपराध नियन्त्रणमा प्रगति भएको दावी पनि राष्ट्रपति ट्रम्पको सूचीमा समावेश गरिएकाे छ । अमेरिकामा आगामी नोभेम्बरमा मध्यावधि चुनाव हुने भएकाे हाे।

Skip This