Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


होर्मुज जलडमरूमध्यको युद्धमा सेना नपठाउने दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा


377
Shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले होर्मुज जलडमरूमध्यमा भइरहेको युद्धमा संलग्न हुन दक्षिण कोरियाले सेना वा सैन्य साधन नपठाउने स्पष्ट पार्नुभएको छ । शुक्रवार बोल्दै राष्ट्रपति लीले दक्षिण कोरियाको सैन्य संलग्नताको नीति परिवर्तन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “युद्धमा संलग्न हुने गरी सेना पठाइने छैन। हामी त्यसरी सेना तैनाथ गर्ने वा सैन्य साधन पठाउने छैनौँ । अहिलेसम्म हामीले यही सिद्धान्त अपनाएका छौँ र भविष्यमा पनि यो सिद्धान्त परिवर्तन हुनेछैन ।”

यद्यपि, दक्षिण कोरियाले आफ्ना व्यापारिक पानीजहाज, कच्चा तेल ढुवानीका मार्ग तथा दक्षिण कोरियाली नागरिकको जीवन र सुरक्षाको संरक्षणका लागि न्युनतम आवश्यक गतिविधि भने सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति लीकाअनुसार यसका लागि सरकारले यसअघि नै तैनाथ सैन्य इकाइमार्फत भइरहेका सुरक्षा गतिविधिलाई थप सुदृढ गर्ने उपायबारे सावधानीपूर्वक विचार गरिरहेको छ । उक्त इकाइले सार्वजनिक सुरक्षामाथि उत्पन्न जोखिमको सामना गर्दै आएको उहाँले बताउनुभयो ।

यस्ता गतिविधिलाई युद्धमा संलग्न हुने वा युद्धलाई समर्थन गर्ने सैन्य तैनाथीका रूपमा बुझिन सक्ने चिन्ता रहेको उल्लेख गर्दै लीले युद्धमा सहभागी हुन कुनै पनि प्रकारको सेना तैनाथ नगरिने कुरामा पुनः जोड दिनुभयो ।