काठमाडाैं ।
नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । उहाँले बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महंगीँदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको आरोप पनि लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिट्लरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरङ्कुशता शैली हो ? मान्छेहरु ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन ।
यो कुरा सरकारले कहिले सुन्छ ? जेनजीको रगतमा टेकेर सिंहदरबारमा खरानीमा घुँडा टेकेको हो सरकारले ? हिजोको दिनमा नैतिकता कुरा गर्नुहुन्थ्यो यही हो नैतिकता ? यो विषयमा सरकारलाई स्पष्ट जवाफ दिनको लागि निर्देश गरिदिनको लागि माग गर्दछु ।’ उहाँले ग्यास अभाव र महंगी नियन्त्रणका विषयमा सरकारलाई जवाफको लागि रुलिङ गर्न उहाँको माग छ ।










प्रतिक्रिया दिनुहोस्