Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


विश्वकर्मा पूजा: भद्रकाली मन्दिरमा सवारी पूजा गर्ने भक्तजनको भीड


65
Shares

काठमाडाैं । विश्वकर्मा पूजाको अवसरमा बिहीबार काठमाडौं उपत्यकाका विभिन्न मन्दिर तथा पूजा स्थलमा सवारीसाधन पूजा गर्ने भक्तजनको भीड लागेको छ।

मानिसहरू बिहीबार बिहानैदेखि आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर पूजा गर्न मन्दिर पुगेका हुन् । विशेषगरी काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको उल्लेख्य चहलपहल देखिएको छ । विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा साँस्कृतिक परम्परा रहँदै आएको हाे । आफ्ना सवारीसाधन सुरक्षित रहून्, दुर्घटना तथा अनिष्टबाट जोगिऊन् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ चालक तथा सवारीधनीहरूले पूजा गर्ने गरेका छन् ।

मन्दिर परिसरमा पुरोहितहरूले विधिपूर्वक पूजा गरिदिने गरेका छन् । सवारीसाधनमा टीका, अक्षता, फूल तथा माला चढाउनुका साथै धूप–दीप बालेर पूजा गर्ने गरिएको हाे। कतिपयले सवारी साधनमा विश्वकर्माको प्रतीकस्वरूप पूजा सामग्री राखेर प्रसादसमेत ग्रहण गरेका छन् । विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना सवारी तथा औजारको पूजा गर्ने गरेका हुन् ।

विशेषगरी वर्षभरि काममा प्रयोग हुने सवारीसाधन तथा मेसिनरीलाई पूजा गरी नयाँ ऊर्जा र शुभकामनासहित काम शुरु गर्ने परम्परा रहेकाे हाे । विश्वकर्मालाई निर्माण, सीप, प्रविधि, औजार तथा मेसिनरीका देवताका रूपमा पूजा गर्ने भएकाले यस पर्वले धार्मिक आस्थासँगै श्रम, सीप र प्रविधिप्रतिको सम्मानलाई समेत जोड्ने गरेको छ ।