Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


पर्यटकीय क्षेत्र ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविररूद्ध मुद्दा दर्ता

५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान हुँदै

221
Shares

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागूऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी तथा कारबाही गरेको हाे । जिल्ला प्रहरी परिसर काठमाडौंले सोही क्रममा सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्नसक्ने खालका ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा १३ पुरुष र २२ महिलाको संलग्नता देखिएको प्रहरीले बताएकाे छ। छानबिनपश्चात् संलग्नता देखिएका निज ३५ केही रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा काम गर्ने, लडाइँ–झगडा गर्ने तथा अन्य अनैतिक क्रियाकलाप मार्फत सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको पाइएको प्रहरीले जनाएकाे हाे।

 प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएकाे हाे ।