Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


एसीसी प्रिमियर कप फाइनलमा रोहितसहित तीन खेलाडीलाई कारबाही


0
Shares

काठमाडाैं । क्वालालम्पुरमा सम्पन्न एसीसी पुरुष प्रिमियर कप फाइनल खेलका क्रममा आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपालका कप्तान रोहित पौडेलसहित युएईका दुई खेलाडी अदीब उस्मानी र खुजैमा तनवीर कारबाहीमा परेका छन्।

आईसीसीले रोहित पौडेल र अदीब उस्मानीलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरेको छ। उनीहरूले आचारसंहिताको धारा २.४ अन्तर्गत अम्पायरको निर्देशन अवज्ञा गरेको ठहर गरिएको हो। नेपालको इनिङ्सको ३१ औँ ओभरमा अम्पायरको निर्देशन पालना नगर्दा दुवै खेलाडीबीच भनाभन भएको थियो।

त्यस्तै, युएईका खुजैमा तनवीरलाई म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ। उनले धारा २.२ अनुसार खेल सामग्रीको दुरुपयोग गरेको आरोपमा कारबाही भोगेका हुन्। युएईको इनिङ्सको ४६ औँ ओभरमा आउट भएपछि उनले रिसमा ब्याटले स्टम्पमा प्रहार गरेका थिए।

तीनै खेलाडीको अनुशासन रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ। पछिल्लो २४ महिनामा यो उनीहरूको पहिलो आचारसंहिता उल्लंघन भएको बताइएको छ। खेलाडीहरूले आफ्नो गल्ती स्वीकार गरेपछि आईसीसी म्याच रेफ्री अली नक्वीले प्रस्ताव गरेको सजाय स्वीकार गरिएको हो।